काठमाडौंः बझाङ्को छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित प्रहरीले मंगलबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवास रहेका छन् ।

प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, सल्यानको कुमाख गाउँपालिका–२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:४३