काठमाडौंः समाजवादी पार्टीको बिहीबारदेखि राजधानीमा सुरु हुने संघीय परिषद्को बैठकले सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा निर्णय लिने भएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिउको छ, सरकारमै रहने कि बाहिरिएर राजपासँगको एकीकरणलाई टुंगोमा पुर्‍याउने भन्नेमा पार्टी नेताहरूबीच मतैक्य छैन । सरकार छाड्नुपर्ने राजपाको सर्तका कारण दुई पार्टीबीच लामो समयदेखि जारी एकीकरणको प्रयासले मूर्तरुप लिन सकेको छैन ।

समाजवादीका वरिष्ठ नेता अशोक राईले एकीकरण र सरकारको विषय संघीय परिषद्को बैठकबाट टुंगो लगाउन चाहेको बताए । ‘सरकारको समीक्षा हुन्छ, सरकारमा रहने या नरहने भन्ने प्रस्ताव पनि आउँछ,’ उनले भने, ‘सरकार छाड्दा संविधान संशोधनका लागि अल्टिमेटम दिने या कसरी छाड्ने ? बस्ने नै हो भने के आधारमा बस्ने ? एउटा परिपक्व निर्णयमा पुग्छौं ।


।’ सरकारमा रहिरहने आधार आफूले नदेखेको उनले बताए । ‘संविधान संशोधनको सर्तमा पार्टी सरकारमा गएको हो, संशोधन नहुने भएपछि बसिरहने आधार छैन,’ उनले भने ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने अभिव्यक्ति दिँदै आएका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । उनले पार्टी नेताहरूसँग संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने र संशोधन प्रक्रिया अघि नबढे सरकार छाड्न उचित हुने बताउँदै आएका छन् । आफ्नो पार्टी सरकारमा रहँदा दुई तिहाइ संख्या पुग्ने र त्यसको बलमा संविधान संशोधन गर्न सहज हुने उनको तर्क छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०७:५३