काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ६४ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८३ जना, लेन उल्लंघन गर्ने ७९ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २८ जना, टिपर कारबाहीमा ५१ जना, सिसिटिभीमार्फत कारबाही ४० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ७८ जना, अनावश्यक हर्न बजाउने ३७ जना, ब्हील लकबाट १ सय १ जना र अन्य ९ सय १८ जना गरी जम्मा १ हजार ५ सय ६४ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ४१ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २७ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बुधबार २१ हजार ३ सय ५३ सवारी साधनबाट १ लाख ५२ हजार ७ सय ४२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १८ हजार ६ सय ४१ सवारी साधनबाट १ लाख ३१ हजार ४ सय १९ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बिहीबार, पुस २४, ११:१२