काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ३४ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ११ जना, लेन उल्लंघन गर्ने ६५ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४९ जना, टिपर कारबाहीमा १५ जना, सिसिटिभीमार्फत कारबाही ९८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ८१ जना, अनावश्यक हर्न बजाउने ४८ जना, ब्हील लकबाट १ सय ८९ जना र अन्य १ हजार २ सय २८ जना गरी जम्मा १ हजार ९ सय ३४ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा शुक्रबार ३५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २६ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शुक्रबार १८ हजार ३ सय ६० सवारी साधनबाट १ लाख १६ हजार ६ सय ४३ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १७ हजार ८ सय ३७ सवारी साधनबाट १ लाख १३ हजार ४ सय १ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः शनिबार, पुस २६, ०६:३९