काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १६ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने २ सय ११ जना, लेन उल्लंघन गर्ने ५८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३४ जना, टिपर कारबाहीमा ३२ जना, सिसिटिभीमार्फत कारबाही ६९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ५ जना, अनावश्यक हर्न बजाउने ६८ जना, ब्हील लकबाट ८३ जना र अन्य १ हजार १ सय ५६ जना गरी जम्मा १ हजार ९ सय १६ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा मंगलबार ३८ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् भने १४ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार मंगलबार १७ हजार ७ सय २० सवारी साधनबाट १ लाख ४ हजार ७ सय ६० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार ९ सय ६८ सवारी साधनबाट ९३ हजार ५ सय ३४ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बुधबार, पुस १६, १२:००