रोल्पाः राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ । दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो ।

सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरुले सहिद–मार्ग नै रोज्ने गर्छन् । सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दुईदर्जन टिपर क्षमताभन्दा बढी भारको चुनढुंगा बोकेर कुद्ने गर्छन् ।


उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ । कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ ध्यान दिइएको छैन् । साढे ३१ किलोमिटर दूरीको उक्त सडकमा यात्रा गर्न गाह्रो हुन थालेको छ । पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन् । ‘सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।

यो सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा गत वर्ष कालोपत्रे गरिएको हो । निर्माणको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने सम्झौता भएकाले सम्झौता अवधिमै सडक अस्तव्यस्त भएपछि हस्तान्तरणसमेत हुन सकेको छैन् । दर्जनौं स्थानमा भत्किएको र उक्किएको यो कालोपत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०७:४७