काठमाडौंः एनआइसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा इन्टरप्राइजेजको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका हुन् ।

उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरुलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क लगायतमार्फत किया ब्राण्डका कारहरु किन्न सकिनेछ ।


कन्टिनेन्टल ट्रेडिङबाट उक्त ब्राण्डका कार किन्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरुले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने कम्पनीले बताएको छ ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी किन्नेले लिनसक्ने बताइएको छ ।

यस बैंकले चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ ।

सो सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी किन्न सकिने व्यवस्था छ ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्नेगरी समझदारी भएको छ ।

यो सुविधा उक्त कम्पनीका देशभर रहेका सबै डिलरहरुबाट ग्राहकले लिनसक्ने समझदारीपत्रमा उल्लेख छ ।

यससँगै सवारी धितो राखेमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

सो कर्जा पाएपछि पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्ने जनाइएको छ ।

एक वर्षपछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १९:१२