काठमाडौंः एनआईसी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरु ल्याइरहेको अवस्थामा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई कात्र्तिक १ गते देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।

यस योजनामा सहभागी हुन अब मात्र २ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंक सम्पूर्ण ऋणीहरुमा बैंकले आग्रह गरेको छ ।

यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरु लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरु उपभोग गरेका सम्पूर्ण ग्राहकहरुले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।


यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरुले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरुका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरुले करिब रु. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको छ ।

हाल बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहकहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १२:२४