काठमाडौंः एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी NIC ASIA Foneloan सेवा शुभारम्भ गरेको छ ।

नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको यस बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् ।

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकहरुको NIC ASIA MoBank एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

कर्जा लिन योग्य ठहरिनुभएमा ग्राहकले NIC ASIA MoBank मा log in गरी त्यहाँ उल्लेखित NIC ASIA Foneloan आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

प्रकाशित मितिः २०७९ साल फागुन १२ गते शुक्रबार, १५:२४