काठमाडौंः एनआईसी एशिया बैंकले असारमा ब्याज तथा नवीकरण शुल्क बुझाउने सबै किसिमका ऋणीलाई आर्कषण छुट दिने योजना ल्याएको छ ।

बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै ब्याजदर, नवीकरण शुल्क, जरीवाना लगायतमा छुट दिने बताएको हो ।

कोभिड १९ महामारीबाट बैंकका ऋणीहरुलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै बैंकले आफ्नै प्रयासबाट असार महिनाका लागि ब्याज तथा नवीकरण शुल्क सम्बधमा अत्यन्त आकर्षक योजना ल्याएको जनाएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकल पनि लकडाउनलाई दृष्टिगत गर्दै चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न निर्देशन दिएको थियो ।


। साथै, राष्ट्र बैंकले त्यसका साथै जेठ मसान्तसम्म तिर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरीवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो ।

नयाँ योजनाअनुसार ऋणीहरुले सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम असारमा नै तिरेमा विद्यमान ब्याजदरलाई कम गरी ९ दशमलव ९९ प्रतिशत कायम गरिनेछ । साथै, साँवा तथा ब्याज भुक्तानी ढिलाई गर्दा लाग्ने कुनै पनि जरीवाना शतप्रतिशत मिनाहा गरिने बैंकको योजना छ । असार मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने कर्जा असारमा नै नवीकरण गरेमा नवीकरण शुल्कमा पनि शून्य दशमलव २५ प्रतिशत छुट दिने बैंकले बताएको छ ।

यो सुविधा बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरुमा लागू हुनेछ । साथै, असार महीनासम्म नवीकरण गर्नुपर्ने कर्जाहरु नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरीवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको बैंकको भनाइ छ ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, ०८:२८