काठमाडौंः साथीसँगै, सबल बन्दै भन्ने ब्राण्ड बाचाका साथ आम जनसमुदायमा केन्द्रित एनआईसी एशिया लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा ऋणीहरुले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो ।


कोभिड–१९ महामारीबाट यस वित्तीय संस्थाका ऋणीहरुलाई परेको प्रभावको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ्ग अभ्यासलाई थप मजबुद पार्दै बाचौं र बचाऔं भन्ने अभियानमा केन्द्रीत हुँदै यस वित्तीय संस्थाले आफ्नै प्रयासबाट असार महिनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने अत्यन्त आकर्षक योजना ल्याएको जनाएको छ ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरुले असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा ल्याएको छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

साथै, यस संस्थाले ४४ लाख ४३ हजार २ सय कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको छ । यस साधारण शेयरको विक्री खुल्ला तथा निष्काशन असार १० गते र निष्काशन बन्द हुने छिटोमा असार १४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ भने निष्काशन बन्द हुने मिति ढिलोमा असार २४ गते (बैंकिङ्ग समय पश्चात) हुनेछ । साथै शेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १८:१४