काठमाडौंः एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्तासमेत गरी १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा असार २४ गते सूचीकृत गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट गत वर्ष चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नुअगावै ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता सेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता सेयर बाँडफाँट भएको थियो ।


कर्मचारीहरुलाई ७४ हजार कित्ता सेयर छुट्याइएकोमा १ सय ६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता सेयर बाँडफाँट गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याइएको प्राथमिक निष्काशन ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको सेयर निष्काशन गत १४ गते (बैंकिङ्ग समयपश्चात्) निष्काशन बन्द भएको थियो । उक्त संस्थाको प्राथमिक सेयर खरिद गर्न ३ लाख ९७ हजार ७ सय ४१ वटा आवेदनमार्फत सर्वसाधारणहरुले निवेदन दिएका थिए ।

यस संस्थाले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रु. ७ अर्ब २२ करोड पुर्‍याउन सफल भएको छ र बचत संकलन तर्फ रु. १ अर्ब १ करोड पुर्‍याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात ०.३२ प्रतिशत र प्रतिशेयर आम्दानी रु. १६.३० रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०९:१९