काठमाडौंः गैर आवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आज महिलाको स्वास्थ्य र अवसर विषयक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा महिला विशेषज्ञ, महिला अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै एनआरएनए कोरियाकी सदस्य जुनु गुरुङले कोरियामा रोजगारीमा गएका महिलाहरु धेरै समस्यामा रहेको बताइन् ।

‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा आउँनुहुन्छ । कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम गर्ने बानी नभएकाहरुलाई समस्या परेको छ’ गुरुङले भनिन् ।


उनकाअनुसार ढाड दुख्ने लामो समयसम्म काम गर्दा अन्य समस्या देखिने गरेकाले महिलाहरु काम छाडेर भाग्ने, आत्महत्या गर्ने प्रवृति बढेको छ ।

समस्यामा परेका महिलाहरुलाई सहयोगका नाममा पुरुषहरुले यौन शोषण गर्ने प्रवृति समेत कोरियामा रहेको उनले जानकारी दिइन् ।

यस्तो समस्या हुन नदिन नेपालबाट कोरिया उड्नुभन्दा अगाडी नै आफूले गर्ने काम र कोरियाको अबस्थाबारे बुझेर जानुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले नेपाली महिलाहरुलाई किशोरावस्थादेखि नै आफ्नो शारिरीक परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा जानकारी नहुँदा यसले लामो अबस्थासम्म असर पारिरहेको बताइन् ।

सानै उमेरमा गरिने बिबाह, अशिक्षा, कम उमेरमा गर्भधारण गर्दा पनि महिलाहरुमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगिरहेको उनले बताइन् ।

नेपालजस्ता पुरुषप्रधान मुलुकमा महिलाहरुले केही काम गर्न सक्दैनन् भन्ने धारणाले गर्दा पनि महिलाहरुले आफूलाई कमजोर महशुस गर्ने हुँदा यसले पनि मानसिक असर पारिरहेको उनले बताइन् ।

डा. सुजिता श्रेष्ठले कार्यक्रममा बोल्दै विश्वमा प्रत्येक वर्ष १५ लाख स्तन क्यान्सरका विरामी थपिने गरेको बताइन् । नेपालमा पाठेघरपछि दोस्रो सबैभन्दा बढी स्तन क्यानसर हुने गरेको उनको भनाई छ ।

‘स्तन क्यान्सरबाट जोगिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । स्तनमा गाँठाहरु देखिए । छालाको रंग तथा बनावटमा परिवर्तन आउने लगायत लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ’ डा श्रेष्ठले भनिन् ।

डा. एलिजा श्रेष्ठले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहेको बताइन् । उनकाअनुसार महिनावारी भइसकेपछि लामो समयसम्म पनि रगत बगिरहनु, यौनसम्पर्क गर्दा पटकपटक रगत बग्नु, गन्हाउने पानी बग्नु जस्ता लक्षणहरु पाठेघरको क्यान्सर हुँदा देखिन्छन् ।

यस्ता लक्षणहरु देखिने बित्तिकै तत्काल अस्पताल जानुपर्ने तथा बेलाबेलामा पाठेघर परीक्षण गराउनुपर्ने उनको भनाई छ ।

‘पाठेघरको मुखको क्यान्सरको पहिलो, दोस्रो, तेस्रो र चौथो चरण हुन्छ । पहिलो चरणमा सर्जरी गरेर पाठेघर डिम्बासय र वरपरको ग्रन्थी निकाल्छौं । ग्रन्थीहरुमा पनि क्यान्सर देखियो भने रेडियो थेरापी गर्छौं । अर्को भनेको किमो थेरापी पनि हो ’ डा. श्रेष्ठले भनिन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सर भएकाहरु समयमा अस्पताल नपुग्ने हुँदा उपचारमा समस्या हुने गरेको उनले उल्लेख गरिन् । जनचेतनाको अभाव, लाज तथा आफ्नो आर्थिक समस्याका कारण पनि महिलाहरु अस्पताल जान नसकेको उनले उल्लेख गरिन् ।

रेस्मा प्रसाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा साउदीबाट यस्मिन बेगम सइदले कार्यक्रमको समग्र विषयको बारेमा आफ्नो धारणा राखेकी थिइन् ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, २०:५५