काठमाडौंः नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ ।

दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गर्ल्स यु–१७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

र्‍याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा ब्याडमिन्टन संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, बिभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।


करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शिर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै युगल तर्फका शिर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, यु–१७ ब्वाईज तथा गर्ल्सका शिर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाईने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शिर्ष १६ बरियता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै, यु–१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ ब्वाईज र २ गर्ल्सको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् ।

कोटामा परेका प्रत्येक खेलाडीहरु, प्रशिक्षक र ब्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकले खान बस्ने ब्यवस्था आफु स्वयंले गर्नु पर्नेछ ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, २०:१०