काठमाडौं: एसियन फुटबल फेडेरेसन (एएफसी)का महासचिव डाटो विन्डसोरले नेपाली फुटबल विकासका लागि सघाउने बताएका छन्। एएफसीको मुख्यालयमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाको टोली र एएफसीका महासचिव डाटो विन्डसोर जोनसँगको भेटपछि एएफसीले सहयोग गर्ने भएको हो।

‘नेपाल एएफसी साउथ जोनका लागि महत्वपूर्ण देश हो र १९७२ देखि एन्फा हामीसँग आबद्ध छ । नेपाली फुटबलको भविष्यको विकासका लागि एन्फासँग सहकार्य गर्न तयार छौँ’ जोनले भनेका छन्। यस्तै डाटो जोनले नेपालमा लिग फुटबल सुरु हुने समाचारले आफूहरु उत्साहित भएको बताउँदै लिग फुटबल कुनै पनि देशको मेरुदण्ड रहेको बताए।


एएफसीका महासचिव जोनले एन्फाले सुरु गर्न लागेको लिगलाई सहयोग गर्ने र ग्रासरुट प्रोग्रामका साथै खेलाडी, प्रशिक्षक र रेफ्रीको विकासका लागि तत्पर रहेको बताएका छन्।

एन्फा कम्प्लेक्समा रहेको मैदानको प्याराफिट र फ्लडलाइटको लागि एएफसीले १ लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने सम्झौता भएको छ। उक्त सम्झौतामा एएफसी सदस्य राष्ट्रको विकास निर्देशक र एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका हुन्।