काठमाडौंः एपीएफ टोलीले झापा र कञ्चनपुर जिल्लाबाट चोरीनिकासी तथा पैठारीको सामान बरामद गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ सतिघरबाट बुधबार एपीएफ टोलीले करिब पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको हो ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको सो मूल्य बराबरको सुपारी, छोकडा र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बुधबार नै करिब दुई लाख ६८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।


भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सो मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० स्थित भुजेलाबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, १०:००