काठमाडौंः एपीएफ टोलीद्वारा विभिन्न ठाउँबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह भन्सार इलाकाबाट आज शुक्रबार एपीएफ टोलीले करिब दुई लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बिहीबार करिब एक लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।


भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान, मोटर पार्ट्स र औषधी एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–५ स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय मेचीनगरमा बुझाईएको छ ।

यसैगरी, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब दुई लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाइकलको पार्ट्स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाइकलको पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोटरसाइकलको पार्ट्स भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, २०:३७