काठमाडौंः पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित इनरुवाबाट मंगलबार एपीएफ टोलीले करिब तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान, लत्ताकपडा, भाडावर्तन र मोटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय वीरगञ्जमा बुझाईएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले मंगलबार चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उक्त लत्ताकपडा तथा सो लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटा मोटरसाइकल बरामद गरेको हो ।


बरामद लत्ताकपडा तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

उक्त लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य तीन लाख ३४ हजार रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १९:२६