काठमाडौंः एपीएफ टोलीले विभिन्न ठाउँबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । टोलीले पश्चिम नवलपरासीबाट एक जना र सर्लाहीबाट २ जना पक्राउ गरेको हो ।

पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका–२ सातपत्तीबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको बर्दघाट
नगरपालिका ४ बस्ने १८ वर्षीय अजय मुसहरलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले मुसहरलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा ओनरेक्स ३१ बोतल, नाईट्रोभेट ट्याब्लेट १ सय २० वटा र वीनसिस्मोफोर्ट १ हजार ८ सय ७२ वटा फेला परेपछि पक्राउ गरिएको हो ।


एपीएफ टोलीले पक्राउ परेका मुसहरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले बुधबार सर्लाहीको ब्रहम्पुरी गाँउपालिका–४ काली मन्दिरस्थित सीमा इलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको हरिवन नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज भुर्तेल र सोही नगरपालिका–३ बस्ने २५ वर्षीय मोहमद अली रहेका छन् ।

बा ४२ प २२३७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा स्मास्मो प्रोक्सिभन २४ वटा र लुपिपोकोफ तीन बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, ०७:४२