काठमाडौंः विभिन्न ठाउँबाट एपीएफ टोलीद्वारा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ हात्तीवनबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २२ वर्षीय सविन आलेमगर, धादिङको थाक्रे गाँउपालिका–४ बस्ने २७ वर्षीय रणबहादुर आलेमगर, काठमाडौंको काठमाडौं महानगरपालिका–१४ बस्ने ३६ वर्षीय राजकुमार रोका र ३० वर्षीय अजितकुमार श्रेष्ठ रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ ।

यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार इलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय सागर रसाईलीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०८:०९