काठमाडौंः महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट एक हजार पाँचसय वटासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्लामा घर बताउने २७ वर्षीय अशिम भुजेल र सिन्धुली जिल्लामा घर बताउने २७ वर्षीय मनोज भुजेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ ।


पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१८ लंका टोलस्थित सीमा इलाकाबाट आजै एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० वर्षीय दयावल तिवारी रहेका छन् ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १९:३२