काठमाडौंः एपीएफ टोलीले सुनसरी र झापाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

टोलीले लागूऔषधसहित सुनसरीबाट ३ जना र झापाबाट एक जनालाई पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–३ पूर्वी भन्सार सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा को ११ प ८१८४ नम्बरको मोटरसाइकलमा आएका सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ बस्ने २१ वर्षीय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका–१० बस्ने ३६ वर्षीय गणेश यादव र साइकलमा आएका सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय सन्तोष मण्डल रहेका छन् ।


उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसबेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल तथा साइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँ स्थित सीमा इलाकाबाट सोमबार नै एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका–४ बस्ने ३० वर्षीय दिलिपकुमार माझीलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा, फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, ०७:२७