सिराहाः सिराहा नगरपालिका–१७ लच्कास्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल एफओबी पटेर्वाबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी ६५ बोतल, कोडिह फासफेट एक बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ३ वटा र डिसाइक्लोनमाइन १२ वटा फेला पारेको हो ।

त्यसबेला मोटरसाइकलमा आएका व्यक्तिहरुले भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लागूऔषध एपीएफ टोलीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए ।

बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोबाईलको ब्याट्री बरामद गरेको छ ।


भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ब्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद ब्याट्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, ०८:१५