रौतहटः राजदेवी नगरपालिका–८ लक्ष्मीपुर स्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको शिवहर ग्रामपंचायत–९ घर बताउने ३१ वर्षीय असरथ मन्सुरी र ३० वर्षिय ओसी मोहमद रहेका छन् ।

बीआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको हो ।

उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।


पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, २१:०९