काठमाडौंः विभागिय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा अर्काे विभागिय टिम नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमात्र बनायो ।

पुलिसका लागि पवन सर्राफले ४०, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन बनाए ।

एपीएफका भुवन कार्कीले ४ तथा कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

एपीएफका लागि शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९/१९, कप्तान शरद भेषवाकरले १८, अविनास बोहराले अविजित ११ र सुर्य तामाङले अविजित १ रन बनाए ।

पुलिसका आरिफ शेखले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।

अब उपाधिका लागि एपीएफले बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १७:०९