काठमाडौंः चेल्सीलाई पराजित गर्दै आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनलका लागि पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । यस्तै, चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । २८ औं मिनेटमा आर्सनलका आबुमियाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।


यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।


प्रकाशित मितिः आइतबार, साउन १८, २०७७, १०:२७