काठमाडौंः कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल गरेका छन् ।

मन्त्री पोखरेलले आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरी एसइई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल गरेका हुन् ।

कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएमा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु प्राप्त भएको छ ।

छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्ने वा अन्य विकल्प पनि प्रयोग गर्न सकिने लगायतका सुझाव आएका मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।


छलफलमा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्यांकनलाई आधारमा मानेर ग्रेड दिन सकिने सुझाव आएका छन् ।

कतिपय प्रदेशका मन्त्रीले सम्बन्धित विद्यालयमै प्रश्नपत्र पठाएर वा पूर्व निर्धारित परीक्षा केन्द्रलाई पुनः वितरण गरी डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले भने हाल आफ्नो प्रदेशमा कोरोना भाइरसको जोखिम बढिरहेकाले परीक्षाबारे तत्काल सोच्न नसकिने जनाए ।बिहीबार, वैशाख ४


प्रकाशित मितिः बिहीबार, वैशाख ४, १७:२६