काठमाडौं: एसईईको नतिजा प्रकाशन भए लगत्तै विधार्थी तथा अभिभावक प्रति कति जीपीए ल्याए कुन विषय पढ्न पाउने भन्ने अन्योल हुने गरेको छ । परिक्षा बोर्डले नयाँ प्रणाली अनुसार परिक्षाफल प्रकाशन गर्न सुरु गरे पछि विगत केहि वर्ष देखि विधार्थी तथा अभिभावकहरु यस्तो अन्योलमा पर्ने गरेका छन्।

१९९० सालदेखि अंकन पद्धतिबाट एसएलसी परिक्षा सञ्चालन गरिँदै आएकोमा २०७२ देखि शिक्षा ऐन संशोधन विधेयक अनुसार परिक्षाफ़ल्को  प्रणाली  परिवर्तन गरी ग्रेड प्रणाली मार्फत प्रकाशन गर्न सुरु भएको हो ।  यस प्रणाली लागु भए देखि कुनै पनि विधार्थी फेल भने नहुने भएका छन् । तर कक्षा ११ मा अध्ययन गर्न उच्च माध्यमिक शिक्षा परिषद्ले न्यूनतम जिपिए तोके पछि विधार्थीहरु अन्योलमा पर्ने गरेका छन् ।


विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न एसईईमा कम्तीमा १.६ जीपीएसम्म ल्याउनु पर्ने हुन्छ।  १.६ जीपीए भएपनि विद्यार्थीको नेपाली, अंग्रेजी र सामाजिकमा भने डी प्लस आएकै हुनुपर्छ । यस्तै २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ ।

विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ ।

शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।