काठमाडौंः यस वर्षको एसईई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ । चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन् । उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसईई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ । परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।


। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसईई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए ।

विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको थियो ।

‘सरकारले निर्देशन गरेअनुसार परीक्षार्थीलाई परबाटै प्रवेशपत्र हेरेर परीक्षा हलमा प्रवेश गराइनेछ,’ कँडेलले भने, ‘निगरानीका क्रममा विद्यार्थीको शरीरमा छुन पाइनेछैन । परबाटै निगरानी राख्ने व्यवस्था गरिनेछ ।’ परीक्षा हलभित्र विद्यार्थीलाई एक मिटरको दूरीमा मात्र बस्ने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । उनका अनुसार ५ फिटको बेन्चमा दुई र तीन फिटको बेन्चमा एकजना परीक्षार्थीमात्र बस्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ । यो अभिमुखीकरण तालिम देशभरिकै केन्द्राध्यक्षलाई दिइएको छ । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०७:४२