काठमाडौँः एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ ।

सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर्का परीक्षार्थीलाई पनि प्रयोगात्मकमा २५ मा २५ नम्बर अर्थात् ‘ए प्लस’ ग्रेड दिइएको छ ।

सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ गरी १०० पूर्णाङ्कको सामाजिक विषयको परीक्षाको यो एउटा उदाहरण मात्रै हो । परीक्षा नियन्त्रण कार्यालयसँग शिक्षकहरूले परीक्षार्थीलाई हचुवाका भरमा प्रयोगात्मकमा जथाभावी नम्बर दिएका हजारौं प्रमाण छन् ।


प्रयोगात्मक परीक्षा भएका विषयमा लापरबाहीपूर्ण तरिकाले शिक्षकहरूले नम्बर दिएका हुन् । ‘सैद्धान्तिकतर्फ १० नम्बर ल्याउने विद्यार्थीलाई प्रयोगात्मकमा पूर्णाङ्ककै नम्बर दिएको पनि भेटियो,’ कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले भने ।

कार्यालयले यस वर्षबाट गणितबाहेक सबै ७ वटा विषयमा प्रयोगात्मक परीक्षा पनि लिएको थियो । शिक्षकहरूले भने सैद्धान्तिकतर्फ न्यूनतम ग्रेड पनि प्राप्त नगरेका विद्यार्थीलाई प्रयोगात्मकतर्फ पूर्णाङ्क नम्बर ‘ए प्लस’ ग्रेड दिएका छन् । प्रयोगात्मक परीक्षामा अधिकांश विद्यार्थीलाई ए प्लस, ए, बी प्लस र बी ग्रेड दिइएको भेटिएको हो ।