काठमाडौंः एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८र३८, पवन सर्राफले १९,पारस खड्काले ९, विनोद भण्डारीले ७, आरिफ शेखले ५, करण केसीले २ र सन्दीप लामिछाने १ रन बनाए ।

मलेसियाका शार्भिन मुनिन्डेले ४ तथा खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले २र२ विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित ५१, अनवर अरुदीनले ३१, मोहमद नुरले ३० र अमिनुदुन राम्लेले २९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३, अविनाश बोहराले २ तथा करण केसीले एक विकेट लिए ।

अब नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।


प्रकाशित मितिः शनिबार, फागुन १७, १५:४७