काठमाडौंः एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

मंगलबार श्रीलंकाको एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो ।

नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।

नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले २८, अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर बनाउन सकेनन् ।

युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिए । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २/२ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आसिफ शेखले ४५, राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ तथा कुशल मल्लले २२ रन जोडे ।

युएईका आकाश ताहिर र सन्चित शर्माले ३/३ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।


प्रकाशित मितिः मंगलबार, भदौ २४, १६:५७