काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ ले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।

संकटाका लागि अजयी मार्टिनले दुई, लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । यस्तै एपीएफका लागि नबिन लामा र आशिष लामाले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा कर्णले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाए । ५३ औं मिनेटमा मार्टिनले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ मा ल्याए ।


। त्यसपछि ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । तर, ८८ औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–२ को जित दिलाए ।

खेलमा संकटाका मार्टिन म्यान अफ दि म्याच चुनिए ।

जितसँगै संकटा ५ खेलबाट ७ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । एपीएफ ५ खेलबाट ४ अंकसहित ११ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः बिहीबार, पुस २४, १४:४४