काठमाडौंः केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ ।

केही समय अघि डिस होममा रिलिज भएको फिल्म आजबाट मोबाईल थिएटरमा रिलिज भएको हो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को आज दामी म्युजिक एपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिज भइरहेको छ ।

प्रति टिकट ७५ रुपैयाँ कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको छ ।

ओएसआर डिजिटल सँगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ ।


हरेक शुक्रबार नयाँ फिल्म यसमा निरन्तर रिलिज हुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ ।

यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमा शो अनुसार फिल्म चल्ने गर्छ । दामी म्युजिक एप डाउन लोड गरि आफुलाई मन परेको फिल्म विभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ ।

फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ ।

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १९:५०