काठमाडौंः प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठेरोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् ।

बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुंगियो । ओली मिर्गौलाको डायलासिस गराएर आराम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् ।


बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे । दाहाललाई उद्धृत गर्दै एक सदस्यले भने, ‘उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गर्ने विषयमा प्रधानमन्त्री पनि सहमत हुनुहुन्छ ।’

नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, ०७:५९