काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन् ।

यसैगरी, विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

नवनियुक्त तीन जना मन्त्रीहरुले भोलि बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १८:४७