काठमाडौं: राष्ट्रिय महत्वको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा पुगि जानकारी लिएका छन् ।

प्रधानमन्त्री सगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले बुधबार जंगी खड्डा पुगेर जानकारी लिएको उल्लेख छ । आयोजनामा नेपाली सेनाले अहिलेसम्म गरेको प्रगति सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराएका थिए ।


नेपाली सेनाले काठमाडौं -तराई/मधेश द्रुतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएको र उनले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने भएकाले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । -रासस