काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।

विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको ओली समूहको नेकपाले जनाएको छ ।

यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो ।

यसैबीच आजकै बैठकले नेकपाको ओली पक्षले पार्टीका सात प्रदेशका संयोजक तोकेको छ ।


प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् ।

बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् । यसैगरी, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र सुदूरपश्चिम प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको संयोजक र कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको संयोजक तोकिएको छ ।

संगठन परिचालन, प्रशिक्षण र निर्वाचनको माहोल बनाउनका लागि उनीहरुलाई जिम्मेवारी प्रदान गरिएको नेकपाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १९:२०