काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिर्वतन संस्थागत भैसकेको अवस्थामा अब विकासले फड्को मार्न जरुरी रहेको बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जनताको अवको चाहना बिकासको भएको हुँदा सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताए ।

कछुवाको गतिमा रहेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको र खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिदै ओलीले उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक सुन्दरतालाई जोगाउँदै बढ्दो आवास निर्माणमा पुनःसंरचना गर्न आवश्यक रहेको बताए ।


उनले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको र सोहि अनुरुप बिभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

पाँचदिने सो प्रदर्शनीमा जग्गा तथा आवाससित सम्बन्धित घर तथा अपार्टमेन्ट, जग्गा योजना, विकास निर्माण सामग्रीका साथै भूकम्प प्रतिरोधी घर, विद्युतीय सामग्री, फर्निचर, पाइप, सजावटका सामानहरु राखिएको छ ।