कञ्चनपुरः कञ्चनपुरमा १ थान पेस्तोल र म्याग्जीन सहित तीन जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।


उक्त घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १४:२६