काठमाडौंः कपिलवस्तु र बझाङबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मध्य बनगाईबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी, बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको छ । फरार दिपकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, २०:४३