काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ देखाउँदै एकलौटी रुपमा निर्णयहरू गरिरहेको आरोप लगाएको छ।

कांग्रेस पार्टी कार्यलयमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने यो सरकारको निर्णय र उसले देखाएको दम्भको विरोधमा उत्रने बताएका छन् ।

राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलनसँग कानुनी उपचार पनि खोजिने बताउँदै प्रवक्ता शर्माले प्रधानमन्त्री ओली कमरेड केपी ओली नभएर कमरेड मनोपोली हुनुपर्ने अभिव्यक्ति दिएका हुन् ।


शर्माले भने, ‘चुनाव सकिएपछि केपी शर्मा ओलीजीले यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट हाम्रा सांसदले शपथ खाँदैनन् भन्नुभयो। तर प्रदेश प्रमुखले शपथ खुवाएपछि मात्रै ती सांसदले राष्ट्रिय सभामा भोट हाल्न पाउने रहेछन्। राष्ट्रिय सभाको गठनपछि मात्र नयाँ सरकार बन्ने रहेछ। त्यही भएर त्यो राजनीतिक नियुक्ति थिएन। ‘सामान्य बहुमतले नभएर उहाँहरूले दुई तिहाइ पुर्‍याउनुभयो। अहिले दुई तिहाइको दम्भको श्रीपेच लगाउँदै हुनुहुन्छ, दम्भको श्रीपेच लगाएर लोकतन्त्रको रक्षा हुँदैन।’

‘सरकारले कानुनलाई उलंघन गरेको छ। यो निर्णय बदनियतपूर्ण छ’, प्रवक्ता शर्माले भने, ‘यो निर्णययपछि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएर मुलुकमा सहज राजनीति वातावरण बनेको सन्दर्भमा सरकारले विधिलाई उलंघन गरेको छ।’

सरकारको यो निर्णयले प्रमुख प्रतिपक्षी दललाई द्वन्द्वका लागि निम्तो गरेको टिप्पणीसमेत कांग्रेसले गरेको छ। ‘यो निर्णयमार्फत् सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको छ’ ।

हिंजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै पुराना सबै नियुक्ति बदर भएका छन्। कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको यस्तो निर्णयको चर्को आलोचना गरेको हो।