नेपालगन्जः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको बताए।

नेपाल प्रेस युनियन, बाँकेले आज बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउँछ । प्रतिपक्षले दलले रचनात्मक तथा सिर्जनात्मक भूमिकाखेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।”

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई गर्दैन भने ।


प्रवक्ता शर्माको थप भनाइ थियो, “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ ।”