काठमाडौं : शानदार बहुमतसहित कम्युनिस्ट सरकार बन्ने पक्का भएपछि लगानी क्षेत्रमा अनेक अनुमान र आशंका सुरु भएको छ । अर्थतन्त्रलाई चलायमान राख्न महत्वपूर्ण खम्बाका रुपमा रहेका स्टक मार्केट (सेयर बजा) र रियल स्टेट ( घरजग्गा व्यवसाय) को भविष्य के होल भन्नेबारेमा आमस्तरमा चासो र चिन्ता सुरु भएको छ। पछिल्लो समयमा निकै राम्रोसँग फस्टाएका यी दुई क्षेत्रमा सर्वसाधरणदेखि बिजनेसन टाइकुनहरुसमेत क्रियाशिल छन् र आश्रित पनि छन्।

खुला बजार तथा उदार अर्थतन्त्रप्रति त्यति सकारात्मक नरहेको आरोप खेपिरहेका एमाले र माओवादी केन्द्रको बहुमत आएपछि लगानीकर्ताहरु यतिबेला पर्ख र हेर को अवस्थामा छन् ।


। एकथरीले नाम मात्रैका नेपालका कम्युनिस्टहरुसँग डराउनुपर्ने नपर्ने र उनीहरुले निजी लगानीकर्तालाई अप्ठ्यारो पार्ने कुनै काम नगर्ने तर्क गरिरहेका छन् भने अर्काथरीले कम्युनिस्टहरुले कडा नीतिले ल्याएर कस्नसक्ने अनुमान गर्दै उद्यम तथा लगानी समुदायमा त्रासको मनोविज्ञान पैदा गर्न खोजेका छन्।

अघिल्ला नजिरलाई विश्लेषण गर्ने हो भन बामपन्थी नेतृत्वको सरकार हुँदा यी दुवै क्षेत्र फस्टाएका छन् । व्यापारी, व्यवसायी र दलालरुलाई क्षति पुग्ने कुनै पनि नीति ल्याएको तथा नजर लगाएको अवस्था विगतमा देखिदैन । एमालेको नौ महिने सरकार छँदा पनि त्यो अवस्था आएन । पहिलो संविधानसभामा ठूलो दलको हैसियतबाट प्रचण्ड नेतृत्व सरकार बनेपछि घरजग्गा व्यवसाय र सेयर बजार केही समय निकै चम्किएको थियो । पछि साइजमा आयो । केपी ओलीको नेतृत्वमा कम्युनिस्टहरुको गठबन्धन सरकार बन्दा पनि सेयर बजार र घरजग्गा व्यवसायलाई केही असर परेन । त्यही बेला सेयर बजार अहिलेसम्मकै सर्वाधिक उच्च अंक १८८० मा पुगेको थियो ।

रियल स्टेट र स्टक मार्केट्सलाई वाम सरकारले अप्ठ्यारो नपार्ने अर्को सत्य के हो भने यी दुवै क्षेत्रमा पैशा लगनी गर्ने लगानीकर्ताहरुमा वाम समुदायको बाहुल्य छ । सेयर बजारका ब्रोकरदेखि लिएर घरजग्गा व्यवसायका डनहरु वाम सरकारकै कार्यकर्ता तथा सुभचिन्तक बढी छन् । त्यसैले उनीहरुले आफ्नो लगानी घाटा लाग्ने गरी वा डुब्ने गरी रियल स्टेट र स्टक मार्केट्सलाई अप्ठ्यारोमा पर्न दिदैनन् र त्यस्तो नीति तथा योजना बनाउन नेतृत्वलाई छुट पनि दिैननन् भनेर विश्वास गर्न सकिन्छ । विश्वव्यापीकरणको स्वभाविक लहर र भूराजनीतिक परिवेशले गर्दा पनि उनीहरु उदार अर्थतन्त्रलाई इन्कार गरेर अघि बढ्न सहज र संभव छैन।

अर्को पक्ष भनेको राजनीतिक स्थिरता र समृद्धि केन्द्रित अभियानले पनि यी दुवै क्षेत्रलाई प्रोत्साहित गर्ने अवस्था छ । स्थिर सरकार बन्नेपछि लगानीकर्ताहरुको आत्मबल बढ्ने र त्यसले बजारमा सकारात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ । खुला बजार र उदार अर्थतन्त्रको गति र शैलीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने वास्तविकतालाई वाम गठबन्धनका नेताहरुले राम्रोसँग महसुस गरेका छन् । बेलाबेलामा उनीहरुले यसलाई सार्वजनिक अभिव्यक्तिमार्फत स्पष्ट पनि गरेका छन्।

इम्पेरियल सेक्युरिटिजका निर्देशक भूमि पाठक कम्युनिस्ट सरकार बन्ने भएपछि बजारमा केही अन्योल र आशंका देखिए पनि बजारको भविष्य सकारात्मक रहेको बताउँछन् । उनको भनाइ छ, स्थिर सरकार बन्ने भएपछि स्वभाविक रुपमा त्यसको सकारात्मक असर सेयर बजारमा पर्नेछ । अर्थतन्त्रमा महत्वपूर्ण अंगको रुपमा विकास भइरहेको सेयर बजारलाई प्रोत्साहित गर्ने खालका नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने सुझाव दिदै पाठक नेपाल तारासँग भन्छन्, ‘अहिले लगानीकर्ताहरु त्यसकै पर्खाइमा छन्।’

सेयरका एकथरी खेलाडीहरु यस्तो बेला अनेक हल्ला फिजाएर बजारमा चलखेल गर्ने प्रयास गर्छन् । राजनीतिक स्थिरता र समृद्धितर्फको सकारात्मक यात्रासँगै पुँजी बजार पनि विस्तारै बुम हुने अवस्था देखेपछि एकथरी खेलाडीहरु यस्तो बेला बजार घटाएर राम्रा कम्पनीहरुको सेयर बुक गर्ने प्रयास गर्छन् । त्यसका लागि कम्युनिस्ट सरकारले सेयर बजारलाई कस्नेजस्ता अनेक फन्डा बजारमा फाल्छन् । अहिले एउटा समूहले त्यो प्रयास पनि गरेको छ । तर आम लगानीकर्ताहरुको उच्च मनोबल र पर्याप्त सचेतना र सुझबुझका कारण सेयर बजारमा रातरात उलटपुलट गर्ने खेल संभव हुन सकेको छैन।

सेयर मामिला जानकार दिलिप मुननकर्मीले वामपन्थी गठबन्धनको सरकार बनेकै कारण मात्र सेयर बजारमा नकारात्मक असर नपर्ने बताउँछन् । उनी भन्छन्, मुख्य कुरा अहिले कम्पनिहरूको पुजिवृद्धिका कारण घटिरहेको प्रतिशेयर आम्दानिका कारण लगानीकर्तामा देखिने निरासा स्थायी सरकार बनेसँगै आसामा परिणत हुनेछ र तत्काल शेयरबजार नबढे पनि घट्न रोक्नेछ।

स्थिर सरकार बनेपछि सेयर बजारले एउटा दिशा पक्रने मुननकर्मी बताउँछन्। उनको भनाइ छ, निर्वाचन पछि बजार घटेको कारण मुलतः धेरैको आशंका राज्य नियन्त्रित अर्थनीति आउँछ र बजार थप घट्छ भन्ने हो। यही बाहनामा एकथरीले मुनाफा बुक पनि गरेका छन् ।
मुननकर्मी गठबन्धन सरकारको नीति तथा कार्यक्रम आएपछि अहिले देखिएको अन्योल र आशंकाको वातावरण पनि हट्ने विश्वास व्यक्त गर्दै मुननकर्मी भन्छन् यसमा स्पष्टता आउछ र बिस्तारै लगानीकर्ताहरू लगानि गर्न थाल्नेछ र कम्पनिहरूको मुनाफामा पनि सुधार आँउने छ, जसले बजारमा सकारत्मक भाइब आउनेछ।

संघीयताको कार्यान्वयनको क्रममा अब प्रदेश राजधानी तोकिने र प्रदेश सरकार गठनभएपछि पूर्वाधार निर्माण तथा विकासको अभियान अघि बढ्ने भएकोले उपत्यका बाहिरका सहरहरुमा घरजग्गाको कारोबार थप चम्किने अनुमान लगानीकर्ताहरुले गरेका छन्। चितवन, बुटवल, इटहरी, धनगढी, दाङ, सुर्खेत, हेटौडाजस्ता सहरहरुमा घरजग्गाको चाप र माग ह्वात्तै बढ्ने अनुमान गरिएको छ।उपत्यका बाहिर आकर्षण बढ्ने भएकोेले बरु राजधानीमा रियल स्टेटको रेट स्थिर हुनसक्ने अनुमान गरिएको छ।

घरजग्गा व्यवसायी तथा दि रियलटर्सका अध्यक्ष दिलिप न्यौपाने गठबन्धन सरकार बन्दा रियट स्टेटमा नकारात्मक असर नपर्ने बताउँछन्। प्रदेश सरकार, नयाँ राजधानी, विकास निर्माणको तीव्रताले यो क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास न्यौपानेको छ ।