काठमाडौँ — आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत मानेर कर असुली गर्न निर्देशन दिएपछि बजार ओरालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ३४ अंकले घट्यो । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ३३ दशमलव ७१ अंकले घटेको हो ।

‘विभागको निर्देशनले लगानीकर्तालाई त्रसित बनाएको छ,’ एक सेयर दलालले भने, ‘अब पहिलेको तुलनामा धेरै कर तिर्नुपर्ने उनीहरूको बुझाइ छ ।’ विभागले शुक्रबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।


आय कर ऐन ०५८ को व्यवस्थालाई उद्धृत गर्दै विभागले सोही विधिअनुसार अग्रिम कर असुली गर्नरगराउन पत्र पठाएको छ । यो निर्देशनपछि अब लगानीकर्ताले बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा अग्रिम कर बुझाउनुपर्ने भएको छ । यसअघि अर्थ मन्त्रालयको निर्देशनमा बोनस र हकप्रदको समायोजित मूल्यका आधारमा पुँजीगत लाभ कर काटिँदै आएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले पुँजीगत लाभकर घटाएकाले आइतबार सेयर बजार घटेको ब्रोकरहरूले बताएका छन् । अघिल्ला दिनहरूमा सामान्य अंकले घटबढ भइरहेको सेयर बजार आइतबार करिब ३४ अंकले घट्नुको प्रमुख कारण सरकारको कर नीति रहेको उनीहरूको दाबी छ ।

सरकारले बजेटमार्फत व्यक्तिगत लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको सीमा बढाएर साढे ७ प्रतिशत पुर्‍याएको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले यस्तो कर तिर्दै आएका थिए ।

अघिल्लो दिनको तुलनामा आइतबार साढे २ प्रतिशतले घट्यो । कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा ५४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब साढे ६ हजार कारोबारबाट १ सय ६५ कम्पनीका ९ लाख ५७ हजार ३ सय ३८ कित्ता सेयर किनबेच हुँदा करिब साढे ५४ करोड रुपैयाँ परिचालन भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।