सुर्खेतः कर्णाली प्रदेशसभाको आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले अवरुद्ध गरेसँगै स्थगित भएको छ ।

सरकारले दिनप्रतिदिन प्रदेशको बेइज्जती गर्ने कार्य गरेको भन्दै नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठक अवरुद्ध पारेका थिए । बिहिवार ३ बजे बस्ने भनिएको बैठक झण्डै ४० मिनेट पछि बसेको थियो । बैठकको सरुवावातमै शाहीले सरकारले अझैसम्म पनि केही काम गर्न नसकेको र पहिले कर्णाली रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्च सार्वजनिक नगरेको बताउँदै शाहिले मनपरी रुपमा सरकार अघि बढेको र बजेटलाई पनि राम्रोसँग कार्यान्वयन नगरेको भन्दै पुरानो हिसाबकिताब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भनेपछि कांग्रेस सांसदहरु बैठकमा उठेर अवरुद्ध गरेका थिए ।


पुरानो नीति तथा कार्यक्रम कार्यान्वयन नहुँदै नयाँ आउन पनि आवश्यक नरहेको सांसद शाहीको भनाइ थियो । उनले काठमाडौंमा भएको राष्टपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरुलाई जर्सीको व्यवस्था नगरेको, राजधानीकै सडक अवस्था नसुध्रिएको भन्दै शाहीले सरकारले ध्यान नदिएर दिनप्रतिदिन बेइज्जत गरेको आरोप लगाएका हुन् ।

सभामुख राजबहादुर शाहीले दुई पटकसम्म बस्न अनुरोध गरे पनि सासदहरुले नमानेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको छ ।