सुर्खेत : सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही–११ लाई ३७ रनले पराजित गर्दै विभागीय टोली आर्मीले केपिएलको पहिलो सिजनको उपाधि जितेको हो।
उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको रूपन्देहीले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ।
टस जितेर पहिलो फिल्डिङ रोजेपछि रूपन्देही विरुद्ध ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३२ रनको स्कोर मात्र बनाउन सक्यो।
। आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए।बलिङतर्फ रूपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुसााल र सन्दिप सुनारले एक विकेट लिए।
१३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिंगमा उत्रिएको रूपन्देहीले १७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो। उसका लागि निश्चल चौधरीले २६, सन्दिप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन जोडे। बलिङतर्फ आर्मीका विक्रम शोवले ३, सुशन भारी र हरीकृष्ण झाले समान २/२ तथा जितेन्द्र मुखिया र चन्द्र सावदले एक/एक विकेट लिए।
खेलको म्यान अफ द म्याच आर्मीको विक्रम शोव भए। प्रतियोगिताको म्यान अफ द सिरिज रूपन्देहीका अलराउण्डर सन्दिप सुनार भए। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे। उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन भए। पुनले नगद दश हजारसहित ट्रफी प्राप्त गरे। त्यसैगरी उत्कृष्ट बलर बनेका रूपन्देहीका कृष्ण कार्कीले पनि नगद दश हजारसहित ट्रफी प्राप्त गरे।
बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कर्णाली प्रिमियर लिगको पहिलो सिजन जेठ ३ गतेदेखि सुरु भएको थियो। जसमा विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो। यो प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो। हरेक वर्ष केपिएल आयोजना हुने आयोजकले जानकारी दिएको छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook