नेपाल तारा: कोटेश्वर – कलंकी चक्रपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो संगै अबको एक महिना भित्र कलंकी चोकमा बनिरहेको अण्डरपास सञ्चालनमा आउने निर्माण पक्षको दाबी छ ।

करिब साढे चार बर्ष अगाडी निर्माणको काम थालिएपनि चिनको संघाई कर्पोरेसनले समयमा नै काम नसक्दा सर्वसाधारणले अत्यन्तै सास्ति व्यहोर्नु पर्यो ।


समयमै काम सम्पन्न नहुँदा सर्बसाधारणले काठमाडौं उपत्यकामा हुने ट्राफिक जाम, सडकमै थुपारिएका निर्माण सामग्री र निर्माण हुँदै गरेको सडकबाट निस्कने धुवाँ-धुलोका कारण स्वास्थ्यमा पुर्याइरहेको प्रत्यक्ष असर समेत सहनुपर्ने बाध्यता सिर्जना भयो ।

सुरुको समयमा निकै सुस्त देखिएको काम पछिल्लो एक बर्षको अवधिमा झण्डै ४५ प्रतिशतले सम्पन्न भएको छ । बिगतको ३ बर्ष ६ महिनाको अवधिमा जम्मा ६० प्रतिशत मात्र काम भएको थियो । पछिल्लो समयमा कामले तीब्रता लिँदा थप गरिएको समयमा निर्माण सम्पन्न गरि चिनियाँ कम्पनीले सडक विभागलाई सडक हस्तान्तरण गर्ने सम्भावना बढेको देखिन्छ ।

सडक निर्माणका क्रममा सर्वसाधारणले जति सास्ति व्यहोर्नु परेपनि आगामी असारबाट उक्त समस्या नदोहोरिने सरकारको दाबी छ ।

कलंकी चोकको अण्डरपास:

कलंकी चोकमा बनिरहेको अण्डरपास नेपालको इतिहाँसमा नै पहिलो पटक बनेको अण्डरपास हो । यो अण्डरपासको लम्बाई जम्मा आठ सय मीटर रहेको छ । जसमध्ये कलंकी चोकबाट बल्खु तिरको भाग चार सय मिटरको छ भने त्यसको अर्कोतीर कलंकी चोकबाट सीतापाइला तिरको भाग पनि चार सय मिटर नै रहने छ । अण्डरपासबाट दुइतर्फी रुपमा सवारी साधन सहजै पास हुन सक्ने छन् ।

कसरि पास हुन्छन् सवारी साधन:

असारबाट सञ्चालनमा आउने अण्डरपास सञ्चालन संगै कलंकीको जाम पूर्णतया घट्ने अपेक्षा गरिएको छ । बल्खुबाट सीतापाइला र सीतापाइलाबाट बल्खु तर्फ जाने सवारी साधनले अण्डरपासको प्रयोग गर्न पाउने छन् । थानकोटबाट कालीमाटी तथा कालीमाटीबाट थानकोट तर्फ जाने सवारी साधन भने अण्डरपास माथिबाट गुड्ने छन् । यी चारै दिशाबाट आउने सवारी साधनले भने मोडिनु पर्दा अण्डरपास माथि दाँया-बाँयाको बाटो प्रयोग गर्नुपर्ने छ ।

आकासे पुल ६ वटा र सडक पुल ४

कोटेश्वर-कलंकी सडक खण्डमा जम्मा ६ वटा आकाशेपुल रहने भएका छन् जसमध्दे कोटेश्वर, ग्वार्को र बागडोल गरी ३ वटा स्थानमा रहेका आकाशे पुलको निर्माण चिनियाँ कम्पनीले नै सम्पन्न गरिसकेको छ भने खसीबजार,एकान्तकुना र महालक्ष्मी स्थान गरी ३ स्थानमा भने सडक विभागले निर्माण गर्ने विभागले जनाएको छ । त्यस्तै यो सडकखण्डमा ४ वटा खोलाका पुल गरेका छन् । जसमध्दे बालकुमारी, बल्खुका २ वटा र खसिबजार पुल रहेका छन् । यि पुलको आसपासमा नयाँ लेन थप गरी सडकको चौडाइअनुसार बनाइएको छ ।

सर्वसाधारणका कारण काममा असहजता :

यो सडक निर्माणका क्रममा सर्वसाधारणले आफूहरुलाई काममा असहज बनाएको चिनियाँ अघिकारिले काममा सम्बन्धित बनाएका छन् । काम गरिरहेको स्थानमा घुइंचो लगाइदिने, काममा प्रयोग गरिएका सामाग्री चोरीदिने साथै काम भएकै ठाउँबाट हिँडीदिने कार्यले समेत आफिहरुलाइ काममा असहज भएको बताएका हुन् ।

नेपाली कामदार, ८० प्रतिशत काम सांकेतिक भाषाकै भरमा सम्पन्न :

यस सडक निर्माणमा निर्देशन दिने चिनियाँ व्यक्तिहरु भएपनि काम गर्ने चाहिँ अधिकांस नेपाली कामदार नै हुन् । आफ्नै देशमा श्रम गरेका यी कामदारलाई काम गर्न भने त्यति सहज थिएन निर्देशन दिनको भाषाको काम गर्न निकै अफ्ठ्यारो स्थिति बन्यो। सडक निर्माणका क्रममा आफूहरुले गरेको करीब ८० प्रतिशत काम सांकेतिक इसारामै गरेको कामदारहरुले बताएका छन् । चिनियाँसँगको भाषा असहजीकरण कारण यस्तो स्थिति आएको उनीहरुले बताएका हुन् । विगत २८ बर्ष देखि देश तथा बिदेशका थुप्रै ठाउँमा काम गरिसकेका नन्द बहादुर पुनले भने ‘मलाई यस सम्बन्धी राम्रै ज्ञान छ र पनि मलाई त अफ्ठ्यारो पर्यो, अरु धेरै नयाँ हुनुहुन्छ अफ्ठ्यारो नहुने कुरै भएन’ । अंग्रेजी भाषा समेत प्रयोग गर्न नपाएको बताउँदै उनले भने ‘कामका लागि चिनियाँले हातले बताउँथे, अनि एक पटक गरेर पनि देखाउथ्यो त्यही आधारमा हामीले गर्थ्यौ’। ‘भाषाका कारण धेरै समय पनि लाग्यो,भाषा सहज भइदिएको भए पक्कै पनि यो काम १-२ महीना अगाडी नै काम सकिने पनि उनले बताए ।

-आशिष पौडेल