काठमाडौंः काठमाडौंको कलंकीमा आज बिहान रोकिराखेको ट्रकमा कुखुरा बोकेको ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा चढेका तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेका नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षीय भूपेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङ भने घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, ११:१९