काठमाडौंः नेपालभाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको तयारी थालेको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स इन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा आह्वान गरेको छ । गत माघमा पुनर्गठन गरिएको संस्थाले पहिलो कार्यक्रमको रूपमा फुटसल प्रतियोगिताको तयारी थालेको अध्यक्ष सुरेन्द्र महर्जनले जनाए ।


कोभिड–१९ को कारणले महिनौंसम्म निष्कृय रहेको कलाकर्मलाई पुनः सुचारू गर्नमा कलाकारहरूलाई मैत्रीपूर्ण फुटसलले थप प्रोत्साहित गर्ने संस्थाका सचिव राजेन्द्र (राजे किपू) महर्जनले दाबी गरे ।

‘कलाकार राष्ट्रका गर्व तथा सम्पत्ति हुन्, उहाँहरूलाई प्रबर्द्धन र सम्मान गरौं ।’ भन्ने नाराका साथ अघि बढेको संस्थाले केही वर्ष यतादेखि कलाकारहरूको हकहित तथा व्यावसायिक कलाकारिता प्रबर्द्धनमा काम गर्दै आएको छ । संस्थाले यसअघि समस्यामा परेका कलाकारहरूलाई आर्थिक र भौतिक सहयोग गरेको बताइएको छ ।

त्यस्तै कलाकारहरूको स्वास्थ्यलाई मध्यनजर गरि बागबजारस्थित काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकको उपचार खर्चमा ३० प्रतिशत आजिवन छुटको लागि सम्झौता गरिसकेको छ ।

फुटसल प्रतियोगिताको समापन कार्यक्रम चैत १४ गते कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, १७:५१